नेपाल-भारत संयुक्त गश्तीको दायरा विस्तार गर्ने सहमति
नेपाल भारत सीमा सुरक्षा बैठक


काठमाडौँ, २३ अगस्त (हि.स.)। नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त गश्तीको क्षेत्र विस्तार गर्ने तथा सीमा अपराधसँग सम्बन्धित सूचनाहरू नियमित रूपमा आदान-प्रदान गर्ने सहमति गरेका छन्।

महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरमा आयोजित नेपाल-भारत सुरक्षा अधिकारीहरूको समन्वय बैठकमा हतियार तथा लागूऔषध तस्करी, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण तथा रोकथाम, सीमा स्तम्भको सुरक्षा र मर्मतसम्भारका विषयमा छलफल भएको थियो।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले संयुक्त गश्ती विस्तारसँगै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासँग सम्बन्धित सूचनाहरू दुवै देशका सुरक्षा निकायबीच आदान-प्रदान गर्ने सहमति भएको जानकारी दिए। उनका अनुसार, बैठकको मुख्य उद्देश्य आपसी समन्वय र सहयोगलाई थप सुदृढ़ गर्नु रहेको थियो।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया तथा सीतामढीका पुलिस उपरीक्षक अमित रञ्जनलगायत दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande