आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
आईटीएसको बैठक


गान्तोक, 24 अगस्त (हि.स.)।इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) का उपाध्यक्ष सीपी शर्माको नेतृत्वमा आईटीएसका सदस्यहरूले सोमबार टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक गरेका छन्।

बैठकलाई सम्बोधन गर्दै वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका सल्लाहकार एवं विधायक तेन्जिङ नर्बु लाम्थाले चेक एन्ड ब्यालेन्सको महत्त्वमा जोड दिँदै दिगोपन तथा निर्माण गरिएका सम्पत्तिहरूको उचित संरक्षण र मर्मतसम्भार आवश्यक रहेको बताए। उनले समयमै मर्मतसम्भार नगरे सिर्जना गरिएका सम्पत्तिहरू भविष्यमा दायित्वमा परिणत हुन सक्ने चेताउनी दिए।

योजना तथा विकास विभागका सचिव तुषार निखारेले स्वागत मन्तव्य राख्दै विभिन्न विभागसँग परामर्श बैठकको शृंखला आयोजना गर्नुको उद्देश्य ‘विकसित सिक्किम @2047’ का लागि सम्बन्धित विभागहरूको दृष्टिकोणबारे छलफल गर्नु तथा विभिन्न विभागबाट आवश्यक सुझाउहरू संकलन गर्नु रहेको बताए।

वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका प्रमुख वन संरक्षक डा. डी. मञ्जुनाथाले आफ्नो प्रस्तुतीकरणमा सिक्किमको समृद्ध जैविक विविधता तथा भू-दृश्यमा आधारित संरक्षण, जलवायु उत्थानशीलता र मानव-वन्यजन्तु सहअस्तित्व सुदृढ़ गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे।

उनले मानव-वन्यजन्तु संघर्ष, जलवायु परिवर्तन तथा वासस्थान खण्डीकरणलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै ‘सिक्किम वन्यजन्तु क्षेत्र दृष्टिकोण 2047’ अन्तर्गत पाँच रणनीतिक लक्ष्य प्रस्तुत गरे। ती लक्ष्यमा जैविक विविधताको संरक्षण, जलवायु-उत्थानशील पारिस्थितिक प्रणाली, मानव-वन्यजन्तु सहअस्तित्व, हरित जीविकोपार्जन तथा स्मार्ट वन्यजन्तु शासन समावेश छन्।

वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका अतिरिक्त निर्देशक (योजना) निश्चल गौतमले वन संरक्षण तथा जैविक विविधता व्यवस्थापनका क्षेत्रमा राज्यले हासिल गरेका उपलब्धि र सञ्चालन गरिरहेका पहलहरूबारे प्रस्तुतीकरण दिए। उनका अनुसार, सिक्किमको कुल भौगोलिक क्षेत्रफलमध्ये ४७.३३ प्रतिशत भूभाग वनले ओगटेको छ। सन् २०२१ देखि २०२३ सम्म वन क्षेत्र करिब १७.३७ वर्ग किलोमिटरले वृद्धि भएको छ, जबकि राष्ट्रिय औसत २१.७६ प्रतिशत रहेको छ। उनले राज्यको ५,८४१ वर्ग किलोमिटर अर्थात् ८२ प्रतिशतभन्दा बढी भूभाग रेकर्डेड फरेस्ट एरिया (आरएफए) अन्तर्गत रहेको तथा थप १,२९७.७७ वर्ग किलोमिटर क्षेत्र आरएफए बाहिर रहेको जानकारी दिए।

भारतको कुल भौगोलिक क्षेत्रफलको करिब ०.२ प्रतिशत मात्र ओगटेको सिक्किमले देशको करिब २६ प्रतिशत जैविक विविधतालाई संरक्षण गरिरहेको उनले बताए। राज्यको संरक्षित क्षेत्र सञ्जालले कुल भौगोलिक क्षेत्रफलको ३०.७७ प्रतिशत भूभाग समेटेको छ, जुन भारतीय राज्यहरूमध्ये सबैभन्दा उच्च हो। यसको तुलनामा राष्ट्रिय औसत करिब ५.३ प्रतिशत रहेको छ।

वन्यजन्तु संरक्षणका क्षेत्रमा हासिल महत्वपूर्ण उपलब्धिबारे जानकारी दिँदै गौतमले पाङ्गोलाखा वन्यजन्तु अभयारण्यअन्तर्गत गोरू जुरे क्षेत्रमा ९,५८३ फिटको उचाइमा पहिलोपटक क्यामेरा ट्र्यापमार्फत हिउँ चितुवाको तस्बिर कैद गरिएको बताए। उल्लेखनीय रूपमा, यही स्थानबाट यसअघि ६ दिसम्बर २०१८ मा सिक्किममा पहिलोपटक रोयल बंगाल टाइगरको तस्बिर अभिलेख गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande