
पुलवामा, २५ अगस्त (हि.स.)। सुरक्षा बलले दक्षिण कश्मीरको पुलवामा जिल्लामा आतङ्कवादीका दुई सहयोगीलाई पक्राउ गरेको छ। राजपोरा क्षेत्रको सीबी नाथअन्तर्गत यारवान जङ्गलमा सञ्चालन गरिएको संयुक्त अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट एउटा पेस्तोल, १२ राउन्ड गोली र एउटा ह्यान्ड ग्रेनेड बरामद गरिएको छ।
एक पुलिस अधिकारीका अनुसार, संदिग्ध आतङ्कवादी सहयोगीहरूको गतिविधिबारे प्राप्त गुप्त सूचनाका आधारमा पुलवामा पुलिसले सेनाको ४४ राष्ट्रिय राइफल्स र केन्द्रिय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को १८३ बटालियनसँगको समन्वयमा अभियान सञ्चालन गरेको थियो।
तलाशी अभियानका क्रममा संयुक्त टोलीले जङ्गल क्षेत्रबाट सीबी नाथ गाउँतर्फ संदिग्ध अवस्थामा आउँदै गरेका दुई जनालाई देखेको थियो। सुरक्षा बलले उनीहरूलाई तत्काल रोकेर नियन्त्रणमा लियो। पक्राउ परेकाहरूको पहिचान लस्सी डबन निवासी लतीफ अहमद दीदार र बुन खा बमूनू निवासी एजाज अहमद बाजादका रूपमा गरिएको छ।
पुलिस अधिकारीका अनुसार, राजपोरा पुलिस थानामा हतियार ऐन तथा गैरकानुनी गतिविधि (रोकथाम) ऐनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी