
जोशीमठ, २५ अगस्त (हि.स.)। ज्योतिर्मठका शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीले कांग्रेस नेता राहुल गान्धीका मनुस्मृतिसम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै हिन्दू धर्मशास्त्रबारे टिप्पणी गर्नुअघि त्यसको उचित अध्ययन र शास्त्रीय सन्दर्भको जानकारी आवश्यक रहेको बताएका छन्।
शंकराचार्य अविमुक्तेश्वरानन्दले मंगलबार जारी गरेको विज्ञप्तिमा पुणेमा आयोजित एक कार्यक्रममा राहुल गान्धीले मनुस्मृति र सनातन सांस्कृतिक विचारबारे दिएको टिप्पणीले धर्मशास्त्रको सतही बुझाइ देखाएको बताएका छन्। उनले संसददेखि सार्वजनिक मञ्चसम्म मनुस्मृति र धर्मशास्त्रका विषयमा पटक-पटक असत्य तथा भ्रामक प्रचार भइरहेको आरोप लगाए।
उनले राजनीतिक मतभेद आफ्नो ठाउँमा भए पनि धर्म र शास्त्रका विषयमा टिप्पणी गर्दा तथ्य, सन्दर्भ र अध्ययनलाई प्राथमिकता दिनुपर्ने बताए। शंकराचार्यले राहुल गान्धीलाई प्रमाणिक स्रोत तथा विद्वानमार्फत हिन्दू धर्मशास्त्रको अध्ययन गरेपछि मात्र सार्वजनिक रूपमा आफ्नो धारणा राख्न आग्रह गरे।
स्वामी अविमुक्तेश्वरानन्दले मनुस्मृतिसहित हिन्दू धर्मशास्त्रबारे समाजमा विभिन्न मत र व्याख्या प्रचलित रहेको उल्लेख गर्दै कुनै ग्रन्थबारे एकतर्फी धारणा प्रस्तुत गर्नुको सट्टा त्यसको मूल स्वरूप, सन्दर्भ, उद्देश्य र शास्त्रीय परम्परा बुझ्न आवश्यक रहेको बताए। राजनीतिक मञ्चबाट धर्मग्रन्थबारे गरिने टिप्पणीले समाजका विभिन्न वर्गमा प्रभाव पार्ने उनको भनाइ थियो।
उनले मनुस्मृतिको ‘पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने...’ भन्ने श्लोक उल्लेख गर्दै यसमा महिलाको परतन्त्रताको कुरा नगरिएको, बरु परिवार र समाजको तर्फबाट उनको सुरक्षा तथा दायित्वको उल्लेख गरिएको दाबी गरे। संस्कृतमा ‘रक्षति’ को अर्थ सुरक्षा गर्नु रहेको र कुनै प्रकारको नियन्त्रण स्थापित गर्नु नभएको उनले बताए।
शंकराचार्यले सनातन परम्परामा नारीलाई शक्ति र सम्मानको स्वरूप मानिएको उल्लेख गर्दै ऋग्वेदका ऋषिकाहरूको उदाहरण दिए। भारतीय संस्कृति पारस्परिक पूरकता र सम्मानको भावनामा आधारित रहेको उनको भनाइ थियो।
राहुल गान्धीले भारतीय जनता पार्टी मनुस्मृतिको समर्थक रहेको गरेको कथित तर्कलाई पनि उनले अस्वीकार गरे। भारतको शासन संविधानअनुसार चल्ने भएकाले कुनै राजनीतिक दललाई मनुस्मृतिसँग जोड्नु तथ्यपरक नभएको उनले बताए।
स्वामी अविमुक्तेश्वरानन्दले संसददेखि सार्वजनिक मञ्चसम्म मनुस्मृति र धर्मशास्त्रबारे बारम्बार असत्य तथा भ्रामक प्रचार भइरहेको दोहोर्याए। उनका अनुसार, यस्तै अभिव्यक्तिका कारण विगतमा राहुल गान्धीलाई ‘हिन्दू धर्मबाट बहिष्कृत’ घोषणा गरिएको थियो।
उनले आफ्नो आपत्ति कुनै राजनीतिक दलको विरोधमा सीमित नभई सनातन धर्मग्रन्थबारे तथ्यहीन तथा भ्रामक प्रचारविरुद्ध रहेको स्पष्ट गरे। शास्त्रीय अध्ययनबिना धर्मग्रन्थबारे यस्ता टिप्पणी जारी रहे सनातन समाजले त्यसको वैचारिक तथा लोकतान्त्रिक ढंगले विरोध गरिरहने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी