पुष्पन प्रधानलाई डुवर्स गौरव सम्मान
गायक पुष्पन प्रधान


बाग्राकोट, 26 अगस्त (हि.स.)। ख्यातिप्राप्त गायक एवं गीतकार पुष्पन प्रधानलाई ‘डुवर्स गौरव सम्मान-२०२६’ द्वारा अलङ्कृत गरिने भएको छ। डुवर्स नेपाली साहित्य विकास समितिको सोमवार बसेको बैठकले जुरीद्वारा निर्णित नामलाई अनुमोदन गरेपछि विकास समितिले यो घोषणा सार्वजनिक गरेको हो।

विकास समितिका मूलसचिव रविन खवासद्वारा जारी एक प्रेस विज्ञप्तिअनुसार, आगामी ६ सेप्टेम्बरको दिन सामसिङमा आयोजन हुने भव्य पुरस्कार अलङ्करण समारोहमा पुष्पन प्रधानलाई ‘डुवर्स गौरव सम्मान’-द्वारा अलङ्कृत गरिनेछ। पुरस्कारमा अङ्ग-वस्त्र, प्रशस्ति-पत्र र नगद राशि सम्मिलित रहनेछ। उल्लेखनीय छ, डुवर्सका सुपरिचित कवि अनन्त श्रेष्ठले आफ्नी आमा कृष्णमाया श्रेष्ठको नाममा स्थापना गरेको ‘कृष्णमाया श्रेष्ठ स्मृति केन्द्र’-बाट यो पुरस्कार प्रायोजन गरिन्छ। विकास समितिको मातहत यो पुरस्कार अर्पण गरिँदै आएको छ। सन् २०२३ बाट आरम्भ भएको पुरस्कार वरिष्ठ इतिहासकार सोनाम बी. वाङ्गेल (२०२३), वरिष्ठ गायक इन्द्जीत मिजार (२०२४) र वरिष्ठ साहित्यकार बिर्ख खड्का डुवर्सेली (२०२५)-लाई प्राप्त भइसकेको छ।

डुवर्सको चिलाउने चियाकमानमा माता निरकुमारी प्रधान र पिता देवकुमार प्रधानका कोखमा २८ फरवरी, सन् १९८२ मा जन्मिएका पुष्पन प्रधान सङ्घर्षले निर्माण गरेका कलाकार हुन्। उनी नेपाली गायन क्षेत्रका एक अन्तर्राष्ट्रिय प्रसिद्धिप्राप्त गायक हुन्। विश्वभरि छरिएका नेपाली जनमानसमा उनको गायनको लोकप्रियता र ख्याति रहेको छ।

उनको ‘एउटा सपना छ...’ जस्ता लोकप्रिय गीतमा हरेक पुस्ता झुमेको र रमाएको देख्न सकिन्छ। पुष्पन एक गीतकार पनि हुन्। उनले उच्च संवेदनाले भरिएका गीतहरू लेखेका छन्। उनका धेरै गीतहरू आफैले गाएका छन्। सन् २००३ मा आफ्नो पहिलो एल्बम ‘मन’ निस्कँदा पुष्पनलाई थोरैले मात्र चिन्दथे। आफ्ना प्रारम्भिक दिनहरूमा पुष्पनले धेरै सङ्घर्ष गर्न परेको थियो। गायन र सङ्गीतलाई साँचो प्रेम गर्नाका कारण उनले आफ्नो सङ्घर्ष जारी राखे।

उनका अन्य एल्बमहरू हुन्- बचन भो (२००५), भरजन्म घासतिर, आह्वान र ईन्दुरे मिन्दुरे। पुष्पनले थुप्रै चलचित्रमा पार्श्वगायक, गीतकार र सङ्गीतकारका रूपमा काम गरेका छन्, जसमा भूटान, जिन्दगी रक्स, समर लव, सरौतो, ए मेरो हजुर-२, हनी-बनी, धागो आदि प्रमुख छन् भने आगामी चलचित्रहरू भटभटे, क्याप्टन साहब, ऐरी आदिमा पनि उनले गीत-सङ्गीत भरेका छन्।

एउटा सपना छ, तिमीलाई हेर्ने बानी पऱ्यो, पंक्षी , बाबुको जुङ्गो, गुनासो छैन कसैलाई, म तिम्रै हुँ, सानी, ठूल्दाजु, नेपाली भाषा, डम्पिङ ग्राउण्ड, भरजन्म घाँसतिर, ए बुढ़ा बा, साया, धिन धिना आदि जस्ता गीतले उनलाई प्रसिद्धिको शिखरमा पुऱ्याएको छ। पुष्पनले बानिका प्रधान, अञ्जु पन्त, मेलिना राई, रचना रिमाल, ऐलिना चौहान जस्ता चर्चित गायिकाहरूसँग युगल गीत गाएका छन्। मेरो भोइस कप, मेरो भोइस युनिवर्स सिजन-१, डुवर्स आइडल जस्ता लोकप्रिय कार्यक्रममा उनी निर्णायकमा रहिसकेका छन् भने नेपाल आइडल, द पोइट आइडल सिजन-२, सिक्किम आइडल आदिमा उनी अतिथि निर्णायक रहेका छन्।

उनलाई प्राप्त यसप्रकारको अन्तर्राष्ट्रिय सम्मानले डुवर्सको गौरव बढ़ाएको छ। पुष्पनले थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू पनि प्राप्त गरिसकेका छन्। पुष्पनले आफ्नै गाउँ चिलाउने चियाबगानमा गुरु छहारी एवम् श्री वृन्दावन म्युजिक स्टुडियो निर्माण गरेका छन् जहाँ चियाबारीका नानीहरूले दैनिक रूपमा ध्यान, म्युजिक, चित्रकला, मातृभाषा आदि कुराहरू सिक्छन्। यस स्टुडियोमा स्तरीय गीत-सङ्गीत रेकर्ड गरिन्छ।

पुष्पन प्रधानले डुवर्सको नामलाई अन्तर्राष्ट्रिय नेपाली संसारमा चिनाएका छन्।

उनलाई ‘डुवर्स गौरव सम्मान’ अर्पण गरिने समाचारले डुवर्समा खुशी छाएको छ। डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष अबीर खालिङले पुष्पन साँचो अर्थमा ‘डुवर्सका गौरव’ रहेको बताए। कला र सङ्गीतप्रति उनको समर्पणले नेपाली गीत-सङ्गीतलाई नयाँ उँचाइ प्रदान गरेको खालिङको भनाइ थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande