
गान्तोक, 27 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गान्तोक जिल्ला परिषद्को महत्वपूर्ण समन्वय बैठक आज गान्तोकमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा युनिट भोलेन्टियर काउन्सिल तथा विधानसभा निर्वाचन क्षेत्र कार्यकारी समितिका विभिन्न नेता तथा सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकमा पार्टीको सांगठनिक संरचनालाई सुदृढ़ बनाउने, तल्लो तहसम्म संगठनको उपस्थिति विस्तार गर्ने, आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जारी सदस्यता अभियानलाई तीव्र बनाउने विषयमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा क्राउडफन्डिङ तथा पारदर्शी आर्थिक व्यवस्थापन, युभीसी गठन तथा तल्लो तहमा सांगठनिक विस्तार, सेप्टेम्बरमा विशेष सांगठनिक कार्यक्रम र सदस्यता अभियानलाई तीव्रता दिन विषयमा छलफल गरियो। बैठकले गान्तोक जिल्ला परिषद्लाई सुदृढ़, अनुशासित, पारदर्शी, संगठित तथा जनमुखी राजनीतिक संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता पुनः दोहोर्याएको छ। साथै, संगठनका हरेक तहबीच समन्वयलाई थप मजबुत बनाउँदै सिक्किमका जनताको वास्तविक सरोकार तथा आकांक्षालाई निरन्तर रूपमा उठान गर्ने निर्णयसमेत गरिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल