
गान्तोक, १४ सेप्टेम्बर (हि.स.)। अखिल सिक्किम मगर संघको सक्रिय पहलमा केन्द्रिय कार्यकारिणी समिति एवं जिल्ला स्तरीय कार्यकारिणी समितिको दोस्रो समन्वय सभा आइतवार दक्षिण सिक्किम नाम्चीको घुर्पिसेमा अखिल सिक्किम मगर संघको अध्यक्ष तथा राज्य आबकारी विभागका ओएसडी रेमन थापा मगरको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
सभामा केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष मनि प्रसाद मगर, उपाध्यक्ष वर्षा थापा मगर लगायत संघको केन्द्रिय कार्यकारिणी तथा जिल्लास्तरीय कार्यकारिणी समितिका पदाधिकारीहरूको पनि पनि उपस्थिति रहेको थियो।
संघकी उपाध्यक्ष वर्षा थापा मगरले स्वागत सम्बोधन राखेपछि शुरू भएको सभामा केन्द्र एवं जिल्ला स्तरीय कार्यकारिणी समितिका अधिकारीहरूले सभाको विशेष कार्यसुचीमाथि आ-आफ्ना अनुभव र सुझाउहरु व्यक्त गरे। यसै क्रममा संघका सल्लाहकार विकास थापा मगरले मगर समुदायको युगानुरूप विकासको निम्ति प्रविधिक रुपमा वेबसाइटको बिकास गर्नुपर्ने कुरामा जोड़ दिॅंदै यस क्षेत्रमा पहल पनि भइरहेको जानकारी गराए।
यसैगरी, भाषा बिकास सचिव गङ्गीमाया मगरले पनि भाषा-साहित्यको बिकास कार्यमा विगतका दिनहरुमा आफुले बटुलेका अनुभवहरु साझा गर्दै भाषाको बिकास हेतु ठोष कदमहरू चाल्नुपर्ने बताइन्। यसरी नै सांस्कृतिक सचिव कृष्णबीर मगरले पनि मगर समुदायको पूरोहित भूषालहरुको विभिन्न कर्मकाण्ड कार्यविधिहरुमा एकरुपता वा समानता ल्याउनु पर्ने आवश्यकतामा जोड दिए। उनले मगर समुदायमा विशेष कार्यशालाको आयोजना गरेर भूषालहरूको संख्यामा वृद्धि ल्याउनु पर्ने सुझाउ राखे।
यसै क्रममा तुला मगर, अनिता मगर र गङ्गीमाया मगरद्वारा भाषा, साहित्य एवं संस्कृतिको विकासको निम्ति तथा मगर समुदायमा वृहत रुपमा विस्तार गर्नको निम्ति स्क्रिप्ट कार्यशालाको आयोजना गर्न नितान्त आवश्यक रहेको सुझाउ राखे। सभामा उपस्थित सोरेङ जिल्लाका एसबी थापा मगरले मङ्गसारीमा निर्माणधीन मगरजोङ भवनको वर्तमान विकासक्रमबारे जानकारी साझा गरेका थिए।
सभामा अखिल सिक्किम मगर सघंका अध्यक्ष रेमन थापा मगरले आफ्नो सम्बोधनमा उपरोक्त सुझाउहरू एवं आपसी विचार विमर्शको क्रममा राखिएका विन्दुहरूलाई सम्बोधन गरेका थिए। सभामा सिक्किमेली मगर समुदायका भूषालहरूको कार्यविधिमा एकरूपता वा समानता ल्याउन एवं भूषालहरूको संख्यामा वृद्धि ल्याउन एउटा वरिष्ठ भूषालको अगुवाईमा कार्यशालाको आयोजना
गरिने र यसको निम्ति सम्पूर्ण जिल्लास्तरीय समितिले आ-आफ्नो जिल्लाबाट उपयुक्त इच्छुक व्यक्तिहरू चयन गर्नुपर्ने निर्णय लिएको बताइएको छ।
यसैगरी, सभामा भाषा, साहित्य एवं संस्कृतिको विकास एवं स्क्रिप्ट शिक्षाको विकास हेतु संस्कृति एवं कला विभागको पहलमा स्क्रिप्ट कार्यशालाको आयोजना गरिने, वेबसाईटको विकासका लागि प्रविधिक विशेषज्ञ व्यक्तिलाई जिम्मेवारी दिइने तथा आगामी नोभेम्बर महिनासम्ममा खण्डस्तरीय समितिको गठन गरिनु पर्ने निर्णयहरू लिइएका छन्।
मगर समुदायको जनगणनासहित, तयार भइरहेको ढाॅंचा अनुरूप यथासम्भव व्यक्तिगत विवरण एकत्रित गरिनुपर्ने, आगामी मगर समुदायको महान चाड़ बाराहिमिजोंङ मङ्गसारीमा अन्तरराष्ट्रिय स्तरमा भव्यरूपमा मनाइने र गान्तोकको मगर भवनको विषयमा आगामी सभामा निर्णय लिइने विचार बिमर्श गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल