सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
अरुण उप्रेती


गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। सिक्किम राज्य सहकारी संघ (सिकन) ले आज रानीपुलको घट्टे डॉंडास्थित सीएईपीएचटीको सभागारमा विशेष कार्यक्रम आयोजना गरी राज्यमा सहकारी उद्यमलाई सुदृढ बनाउने, सहकारी उत्पादनको प्रवर्द्धन गर्ने तथा डिजिटल एवं सहकारी शिक्षा सेवाको विस्तार गर्ने उद्देश्यले विभिन्न महत्वपूर्ण पहलको शुभारम्भ गरेको छ। कार्यक्रमको शुरुवात सीएईपीएचटी परिसरमा मुख्य अतिथिको बाहुलीबाट ‘सिकन हाट’ को उद्घाटनसँगै भएको थियो।

कार्यक्रममा ग्रामीण विकास विभाग, पञ्चायती राज एवं सहकारिता विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि तथा सहकारिता विभागकी अध्यक्ष विद्या विश्वकर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

मुख्य अतिथि अरुण उप्रेतीले महत्वपूर्ण पहल सफलतापूर्वक अघि बढाएकोमा सिकनको नेतृत्व तथा कर्मचारीहरूलाई बधाई दिए। उनले राज्यमा सहकारी क्षेत्रका लागि सक्षम, दिगो र प्रगतिशील संरचना निर्माण गर्ने सिकनका अध्यक्ष डा. मंगलजित राईको दृष्टिकोण र नेतृत्वको प्रशंसा गरे।

मन्त्री उप्रेतीले सिकनको विकास तथा विस्तार र सिक्किममा सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने आश्वासन दिए। उनले प्रतिष्ठित स्कच पुरस्कार प्राप्त गरेकोमा पनि सिकनलाई बधाई दिँदै यस उपलब्धिलाई सिक्किमको सहकारी आन्दोलनका लागि महत्वपूर्ण सफलता तथा गर्वको विषय भएको बताए।

सिकनका अध्यक्ष डा. मंगलजित राईले सहकारी उत्पादनका लागि बलियो बजार सम्पर्क निर्माण गर्नुका साथै सहकारी शिक्षा, डिजिटल सेवा र संस्थागत विकासमा लगानी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले ‘सिकन हाट’ लाई सहकारी संस्थाले उत्पादन गरेका सामग्रीलाई व्यापक बजारसम्म पुर्‍याउने तथा थप पहिचान दिलाउने मञ्चका रूपमा विकास गर्ने परिकल्पना गरिएको बताए। यसबाट सहकारी सदस्य तथा उत्पादकहरूलाई उत्पादनमा मात्र सीमित नराखी राम्रो ब्रान्ड निर्माण, प्याकेजिङ, मूल्य निर्धारण तथा उत्पादनको मूल्य अभिवृद्धितर्फ अघि बढ्न सहयोग पुग्ने उनले बताए।

डा. राईले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व तथा राज्यभरका सहकारी संस्थालाई निरन्तर प्रदान गर्दै आएको सहयोगप्रति गहिरो आभार व्यक्त गरे। उनले सहकारी आन्दोलन सुदृढ गर्न र सिक्किमका सहकारीकर्मीलाई सशक्त बनाउन मुख्यमन्त्रीको निरन्तर प्रोत्साहन र प्रतिबद्धताको प्रशंसा गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande