
पूर्व मेदिनीपुर, 16 सेप्टेम्बर (हि.स.)। जिल्लाको एगरा थाना क्षेत्रस्थित डोमपुकुरमा पुलिसले लगभग नौ किलोग्राम गाँजासितै दुई जना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान साग्निक चन्द (19) र जितु दे (20) को रूपमा भएको छ भने दुवै नै पश्चिमी मेदिनीपुर जिल्लाको बेलदा थाना क्षेत्र निवासी रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा बितेको मङ्गलवार राती एगरा थानाको पुलिसले एगरा-कान्थी राज्य मार्गमा डोमपुकुर क्षेत्रमा अवस्थित भारत पेट्रोल पम्पको छेउमा अभियान चलायो। यसै अवधि संदिग्ध रूपमा गइरहेका दुई जना युवकहरूको जाँच गरियो जसमा उनीहरूबाट लगभग नौ किलो गाँजा भेटियो।
पुलिसले मादक पदार्थको तस्करीमा उपयोग गरिएको मोटरसाइकललाई जफत गर्नको साथै दुवै आरोपीहरूको स्मार्टफोन पनि जफत गरेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा