
खरसाङ, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा बिहीबार खरसाङमा ‘एक दिया आशीर्वाद का’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा भाजपा कार्यकर्ता, विभिन्न सरकारी विभागका प्रतिनिधि तथा स्थानीय जनताको सहभागितामा आयोजना गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति शुभेच्छा व्यक्त गर्दै दीप प्रज्वलन गरिएको थियो। २५ वर्षभन्दा लामो सार्वजनिक जीवनमा निरन्तर राष्ट्रसेवा, जनसेवा र विकासलाई प्राथमिकता दिँदै आएको उनको यात्रालाई स्मरण गर्दै सहभागीहरूले उनको दीर्घायु, सुस्वास्थ्य तथा सफलताको कामना गरे। प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनको मूल मन्त्रका रूपमा रहेको ‘राष्ट्र प्रथम’ भावनालाई स्मरण गर्दै वक्ताहरूले उनको निरन्तर परिश्रम, अनुशासन र देशप्रतिको समर्पणबारे चर्चा गरे।
प्रधानमन्त्रीको सेवायात्रामा व्यक्तिगत सुविधा वा विश्रामभन्दा राष्ट्रहित र जनसेवालाई प्राथमिकता दिएको विषयलाई पनि कार्यक्रममा उल्लेख गरियो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा विशेष अतिथिका रूपमा उपस्थित थिए भने खरसाङ महकुमा शासक इन्चार्ज लाडेन्ला लेप्चा, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, विभिन्न सरकारी विभागका अधिकारी तथा प्रतिनिधिहरू, भाजपा कार्यकर्ता र स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक