
सोनादा, 17 सेप्टेम्बर (हि.स.)।साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान, सोनादाद्वारा स्कट मिशन प्राथमिक पाठशाला भवन, सोनादामा आयोजना हुन लागेको अन्तरविद्यालय तर्क प्रतियोगिता, सम्मान समारोह तथा कृति लोकार्पण कार्यक्रममा युवा कलाकार समीर शर्मालाई ‘उदयमान युवा कलाकार सम्मान 2026’ द्वारा सम्मानित गरिने भएको छ। नेपाली नाटक, चलचित्र तथा संगीत क्षेत्रमा सक्रिय रहँदै आएका युवा कलाकार समीर शर्माले आफ्नो अभिनय यात्रामा निरन्तर योगदान दिँदै आएका छन्।
नेपाली चलचित्र तथा नाटकका साथै विभिन्न म्युजिक भिडियोहरूमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका शर्माले हिन्दी, बङ्गालीलगायत विभिन्न भाषाका चलचित्र तथा वृत्तचित्रमा समेत अभिनय गरेका छन्। युवा अवस्थामै कला क्षेत्रमा आफ्नो पहिचान निर्माण गर्दै अघि बढिरहेका शर्माको सिर्जनात्मक सक्रियता, अभिनयप्रतिको समर्पण र सम्भावनालाई कदर गर्दै प्रतिष्ठानले उनलाई यस वर्षको उदयमान युवा कलाकार सम्मान 2026 प्रदान गर्न लागेको हो।
यसै कार्यक्रममा भारतीय नेपाली नाट्य तथा रङ्गमञ्च क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी विशिष्ट कलाकार मरियममित लेप्चा (राई) लाई समेत सम्मान गरिनेछ। समीर शर्माको आगामी कलायात्रा अझ सशक्त, सफल र प्रेरणादायी बनोस् भन्ने शुभकामनासहित प्रतिष्ठानले उनलाई उक्त सम्मान प्रदान गर्न लागेको जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक