
सिक्किमकै विद्यार्थीहरूले राज्यभित्र गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने: राज्यपाल
गान्तोक, १८ सेप्टेम्बर (हि.स.)। सिक्किम राज्यको पहिलो सरकारी मेडिकल कलेज ‘हेलन लेप्चा सिक्किम सरकारी मेडिकल कलेज’ को पहिलो शैक्षिक सत्र आजदेखि औपचारिक रूपमा शुरु भएको छ। यस ऐतिहासिक अवसरमा आयोजित समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए।
लोक भवनका अनुसार, कार्यक्रमको पहिलो चरणमा राज्यपाल माथुरले मुख्यमन्त्री तामाङसँगै नवनिर्मित हेलन लेप्चा सिक्किम सरकारी मेडिकल कलेज परिसरको निरीक्षण गरे। उनले नयाँ शैक्षिक सत्रका लागि गरिएको तयारीको अवलोकन गरे। सोही अवसरमा महान् स्वतन्त्रता सेनानी हेलन लेप्चाको अर्धकद प्रतिमा तथा मेडिकल कलेजको आधिकारिक प्रतीकचिह्नको अनावरण गरियो।
निरीक्षण तथा अनावरण कार्यक्रमपछि मुख्य समारोह राजधानीको मनन केन्द्रमा आयोजना गरिएको थियो। समारोहमा मेडिकल कलेजका पहिलो समूहका विद्यार्थीहरूका लागि व्हाइट-कोट सेरेमनी आयोजना गरियो। राज्यपाल माथुरले नवप्रवेशी विद्यार्थीहरूलाई सेतो कोट प्रदान गरे। त्यसपछि विद्यार्थीहरूको शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न भयो।
समारोहलाई सम्बोधन गर्दै राज्यपाल माथुरले सिक्किममा सरकारी मेडिकल कलेज स्थापना हुनु व्यक्तिगत रूपमा पनि आफ्ना लागि खुशीको विषय रहेको बताए। उनले यस उपलब्धिका लागि सिक्किम सरकारलाई बधाई दिँदै सरकारी मेडिकल कलेजको स्थापनाले राज्यको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा नयाँ युगको शुरुआत भएको बताए। उनले यस संस्थानमार्फत सिक्किमकै विद्यार्थीहरूले राज्यभित्र गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्ने बताए।
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको यस संस्थानका लागि आभार व्यक्त गर्दै मेडिकल कलेजको स्थापना प्रधानमन्त्रीको ‘विकसित भारत @२०४७’ को सङ्कल्प तथा विशेषगरी पूर्वोत्तर क्षेत्रलाई देशको विकासको नयाँ इन्जिन बनाउने दृष्टिकोणलाई साकार पार्ने दिशामा महत्वपूर्ण कदम रहेको बताए। मेडिकल कलेजको नामकरणप्रति खुशी व्यक्त गर्दै राज्यपाल माथुरले हेलन लेप्चाको नाममा संस्थाको नामकरण हुनु नारी शक्तिप्रतिको उच्च सम्मानको प्रतीक रहेको बताए। उनले सिक्किमको भूमि सदैव महिला सशक्तीकरण, स्वाभिमान तथा समाज निर्माणमा महिलाहरूको अग्रणी भूमिकाको साक्षी रहेको उल्लेख गरे।
राज्यपालले मेडिकल कलेजका पहिलो समूहका सबै विद्यार्थीहरूलाई बधाई दिँदै भावी चिकित्सकहरूलाई पूर्ण निष्ठा, मानवीय मूल्य र सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरे। पहिलो समूहका विद्यार्थीहरूले स्थापना गर्ने मूल्य र संस्कारलाई आगामी पुस्ताले अनुसरण गर्ने भएकाले असल आचरण तथा मानवीय मूल्य स्थापित गर्नु आवश्यक रहेको उनले बताए।
शिक्षण संकायलाई सम्बोधन गर्दै राज्यपालले विद्यार्थीहरूलाई केवल चिकित्सक मात्र नभई नैतिकता, संवेदनशीलता तथा समाजप्रतिको उत्तरदायित्व बोकेका जिम्मेवार चिकित्सकका रूपमा तयार गर्न आग्रह गरे। उनले विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा मानवीय मूल्य र सेवाभावलाई पनि शिक्षाको महत्वपूर्ण अंग बनाउनुपर्नेमा जोड दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल