
मुख्यमन्त्री र महेन्द्र पी. लामाको संयुक्त सल्लाहका कारण सिक्किम संकटमा परेकोछ: गणेश राई
गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको महिला परिषद्को समन्वय सभा आज मल्ली निर्वाचन क्षेत्रअन्तर्गत मल्ली डाँडामा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो।
सीएपी अध्यक्ष गणेश राईले महिलाहरूको अधिकार सुनिश्चित गर्न राजनीतिमा महिलाहरूको सहभागिता आवश्यक रहेको बताए। तर, अन्य राजनीतिक संगठनहरूले चुनाउ जित्न वा संगठनमा संख्या बढाउन मात्र महिलाहरूलाई सहभागी गराउने गरेको उनले आरोप लगाए।
सिटिजन एक्सन पार्टी- सिक्किमले महिलाहरूका आवश्यकता, समस्या र समाधान महिलाहरूले नै राम्रोसँग बुझ्ने र जान्ने भएकाले नारी सशक्तीकरणका लागि पार्टी संगठनमा महिलाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उनले बताए। महिलाहरूलाई न्याय दिन तथा निर्णय लिन सक्ने स्थानमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको अध्यक्ष राईले स्पष्ट पारे।
आफ्नो अधिकार र भविष्य सुनिश्चित गर्ने क्षमता तथा दक्षता हुँदाहुँदै पनि गलत राजनीतिको कारण राज्यका महिलाहरूले विभिन्न विषयमा सम्झौता गर्नुपरिरहेको उनले बताए।
सिक्किम राष्ट्रमै सबैभन्दा धनी राज्यका रूपमा देखिए पनि वर्तमान सरकारको आर्थिक अनुशासनहीनताका कारण राज्यको अर्थव्यवस्था डावाडोल भएको र त्यसको सोझो प्रभाव महिलाहरूमा परेको अध्यक्ष राईको दाबी थियो। उनले सीएपीको सरकार गठन भएपछि यी तमाम समस्याहरूको समाधान सुनिश्चित गर्ने घोषणा पनि गरे।
अध्यक्ष राईले वर्तमानमा महेन्द्र पी. लामालाई लिएर उत्पन्न भएको विवादको उल्लेख गर्दै राज्यको क्याबिनेट स्तरको व्यक्तिले बन्द ढोकाभित्र सिक्किमविरुद्ध षड्यन्त्र गर्दा मुख्यमन्त्री प्रेमसिंह तामाङको सहभागिता निश्चित रहेको आरोप लगाए। उनले मुख्यमन्त्रीको छिमेकी राज्यसँग अत्यधिक निकटता रहेको बताउँदै मुख्यमन्त्री र महेन्द्र पी. लामाको संयुक्त सल्लाहका कारण सिक्किम संकटमा परेको दाबी गरे। उनले राज्यहितका लागि प्रत्येक सिक्किमे अघि आएर विद्रोह गर्न आह्वान पनि गरे।
सभालाई सम्बोधन पार्टीका संगठन महासचिव प्रकाश पराजुलीले सिक्किमलाई सिक्किमकै रूपमा कायम राख्नुपर्नेमा जोड दिँदै सिक्किमको अस्तित्वसँग खेलवाड गरिए त्यसको परिणाम भोग्नुपर्ने चेताउनीसमेत दिए।सभामा जिल्ला तहका महिला परिषद्का अध्यक्षहरू क्रमशः शान्ति तामाङ, अमृता सुब्बा, रिमा चापागाईं, कर्मा दिछेन भोटिया र हेलेन राईले महिला परिषद्सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाका क्रममा सिक्किमभरिबाट ४६ परिवार सीएपीमा सामेल भएको पार्टीले विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल