राज्यपाल र मुख्यमन्त्रीले गरे हेलेन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालयको निरीक्षण
राज्यपाल र मुख्यमन्त्रीले गरे हेलेन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालयको निरीक्षण


गान्तोक, १८ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नवनिर्मित हेलन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालयको निरीक्षण गरेका छन्। महाविद्यालयको पहिलो शैक्षिक सत्र शुरु हुनुअघि गरिएको निरीक्षणका क्रममा महाविद्यालयको पूर्वाधार तथा तयारीको अवलोकन गरिएको हो।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी साझा गर्दै सिक्किमको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको क्षेत्रमा यो ऐतिहासिक उपलब्धि रहेको उल्लेख गरेका छन्। यस अवसरमा राज्यपाल र मुख्यमन्त्रीले हेलन लेप्चाको अर्धप्रतिमा तथा चिकित्सा महाविद्यालयको आधिकारिक लोगो संयुक्त रूपमा अनावरण गरेका छन्।

'हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेज' सिक्किम राज्यमा स्थापना भएको पहिलो सरकारी चिकित्सा महाविद्यालय हो। राज्यको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको इतिहासमा यसको स्थापना महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको छ। भारत सरकार र सिक्किम सरकारको संयुक्त पहलमा स्थापना गरिएको यस महाविद्यालयको मुख्य उद्देश्य राज्यमा सर्वसुलभ तथा गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको पूर्वाधार र क्षमता सुदृढ गर्नु हो।

राजधानीनजिकै सोच्यागाङ, सिच्छे क्षेत्रमा अवस्थित यस महाविद्यालयलाई एसटीएनएम अस्पतालसँग सम्बद्ध गरिएको छ, जहाँ विद्यार्थीहरूले व्यावहारिक तथा चिकित्सकीय प्रशिक्षण प्राप्त गर्नेछन्। महाविद्यालयले २०२६-२७ को शैक्षिक सत्रदेखि वार्षिक १०० जना एमबीबीएस विद्यार्थी भर्ना गरेर आफ्नो शैक्षिक यात्रा शुरु गर्ने बताइएको छ। पहिलो समूहका विद्यार्थीको आगमनसँगै सिक्किम आफ्नै सरकारी चिकित्सा शिक्षा प्रणाली भएको नयाँ चरणमा प्रवेश गरेको छ।

यस महाविद्यालयको नाम सिक्किमकी प्रसिद्ध स्वतन्त्रता सेनानी हेलेन लेप्चा, जसलाई सावित्री देवीका नामले पनि चिनिन्थ्यो, उनको सम्मानमा राखिएको हो। दक्षिण सिक्किमको सङ्गमूमा जन्मेकी हेलेन लेप्चा स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी बनेकी थिइन्। उनको देशभक्ति, साहस, त्याग तथा समाजसेवाको योगदानलाई सम्मान गर्दै राज्य सरकारले चिकित्सा महाविद्यालयको नाम उनकै नाममा राखेको हो।

सिक्किममा सरकारी चिकित्सा महाविद्यालय स्थापना गर्ने पहल राज्यमा लामो समयदेखि आवश्यकताका रूपमा रहेको थियो। आफ्नै चिकित्सा महाविद्यालय स्थापना भएपछि राज्यका विद्यार्थीहरूले चिकित्सा शिक्षा हासिल गर्न अन्य राज्यमा जानुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ। यसले राज्यमा दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्नुका साथै भविष्यमा स्थानीय स्वास्थ्य आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी तयार पार्न पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande