
गान्तोक, १८ सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको नाम्ची जिल्ला संगठनसम्बन्धी कार्यशाला शुक्रबार नाम्ची जिल्ला कार्यालयमा सम्पन्न भयो। पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा प्रचार-प्रसार मामिला प्रभारी एमएन दाहालको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको एसडीएफले विज्ञप्तिमा जनाएको छ।
कार्यशालालाई सम्बोधन गर्दै दाहालले नाम्ची जिल्लामा पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउँदै जनताको घर-घर तथा गाउँ-गाउँसम्म पुर्याउनुपर्नेमा जोड दिए। उनले पार्टीका नीति, विचार, सिद्धान्त र आगामी योजनाबारे प्रत्येक कार्यकर्ता जानकार हुनुपर्ने बताउँदै पार्टीका प्रकाशन तथा सामग्रीहरूलाई गाउँस्तरसम्म पुर्याउनुपर्ने बताए।
हालै प्रकाशित ‘सिक्किम नव-निर्माणको कार्यनीति’ पुस्तक पार्टीका सबै तहका कार्यकर्ताले अध्ययन गरी त्यसमा समेटिएका विषय र पार्टीको दृष्टिकोणबारे स्पष्ट जानकारी लिनुपर्नेमा उनले जोड दिए। दाहालले वर्तमान सिक्किमको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे अध्ययन गरी तथ्य र प्रमाणका आधारमा जनतामाझ जानकारी पुर्याउन कार्यकर्ताहरूलाई आग्रह गरे।
सिक्किमका विशेष संवैधानिक अधिकार, पहिचान, हित तथा जनसरोकारसँग सम्बन्धित विषयमा केन्द्रबाट लागू गरिएका कानुन तथा नीतिका प्रभावबारे जनतालाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको उनले बताए।
कार्यशालामा पार्टीको प्रचार-प्रसार विभागलाई थप प्रभावकारी बनाउने, पार्टीका प्रकाशन तथा दस्तावेजहरू तल्लो तहसम्म पुर्याउने तथा गाउँ-गाउँमा संगठनात्मक र वैचारिक गतिविधि विस्तार गर्ने विषयमा छलफल भएको थियो।
कार्यशालामा नाम्ची जिल्लाका विभिन्न तहका पार्टी कार्यकर्ता, क्षेत्रीय अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद तथा जनसम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल