
नयाँ दिल्ली, २१ सेप्टेम्बर (हि.स.)। दूरसञ्चार विभागले नक्कली तरिकाले सिमकार्ड जारी गर्ने, दूरसञ्चार पहिचानकर्ताको दुरुपयोग गर्ने तथा मोबाइल फोनको आईएमईआई नम्बरमा छेड़छाड़ गर्नुलाई गम्भीर अपराध भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। विभागले सोमवार यस्ता अपराधमा तीन वर्षसम्म कैद तथा ५० लाख रुपियाँसम्म जरिमानाको व्यवस्था रहेको जनाएको छ।
दूरसञ्चार मन्त्राल अनुसार, छत्तीसगढ़मा एक पोइन्ट अफ सेल (पीओएस) एजेन्टले मानिसहरूको परिचय सम्बन्धी कागजात दुरुपयोग गरी उनीहरूको जानकारी वा सहमतिबिना २५ वटा मोबाइल सम्पर्क सक्रिय गरेको घटना सार्वजनिक भएको छ। अनुसन्धानपछि सम्बन्धित पीओएस एजेन्टलाई कालोसूचीमा राखिएको छ। शंकास्पद मोबाइल सम्पर्कहरूको प्रमाणीकरण गराइएको र प्रमाणीकरणमा असफल भएका नम्बरहरू बन्द गरिएको विभागले जनाएको छ।
विभाग अनुसार, दूरसञ्चार अधिनियम, २०२३ अन्तर्गत नक्कली कागजातका आधारमा सिम लिनु, आफ्नो नाममा जारी भएको सिम अर्को व्यक्तिलाई दिनु वा भाड़ामा दिनु, कलिङ लाइन पहिचानसित छेड़छाड़ गर्नु तथा आईएमईआई नम्बर परिवर्तन गर्नु दण्डनीय अपराध हो।
दूरसञ्चार विभागले नागरिकहरूलाई आफ्नो नाममा जारी भएका मोबाइल नम्बरहरूको नियमित रूपमा जाँच गर्न तथा कुनै अनधिकृत सिम सक्रिय भएको पाइएमा तत्काल कारबाही गर्न आग्रह गरेको छ। यसका लागि ‘सञ्चार साथी’ पोर्टल तथा मोबाइल एपको प्रयोग गर्न सकिनेछ।
विभाग अनुसार, ‘सञ्चार साथी’ मार्फत नागरिकहरूले आफ्नो नाममा जारी भएका सबै मोबाइल सम्पर्कको जानकारी प्राप्त गर्न तथा आवश्यक नभएका वा शंकास्पद नम्बर बन्द गराउन अनुरोध गर्न सक्छन्। पोर्टलमा मोबाइल उपकरणको आईएमईआईको सत्यता जाँच गर्ने सुविधा पनि उपलब्ध छ। यसबाट मोबाइलको ब्रान्ड, नमुना तथा निर्माता सम्बन्धी जानकारी समेत पुष्टि गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी