
सिलगढ़ी, 24 सेप्टेम्बर (हि.स.)। शिशु शिक्षा केन्द्र (एसएसके) औ माध्यमिक शिक्षा केन्द्र (एमएसके) शिक्षिकाहरूको लामो समयदेखिको वेतन बाँकी रहेको आरोप लगाउँदै बिहीवार सिलगढ़ी महकुमा परिषद परिसरमा विरोध प्रदर्शन गरियो। समयमा वेतन नपाएकोमा असन्तुष्ट शिक्षिकाहरू ठूलो सङ्ख्यामा भेला भएर महकुमा परिषद अगाड़ि धरना अनि प्रदर्शनमा सामेल भए।
प्रदर्शनकारी शिक्षिकाहरूको आरोप छ, गत जुलाई महिनादेखिको उनीहरूले वेतन पाएका छैनन्। यस सम्बन्धमा पहिला पनि महकुमा परिषदलाई जानकारी दिइएको थियो। त्यसबेला एक सप्ताहभित्रमा समस्या समाधान गर्ने आश्वासन दिइएको थियो, तर अहिलेसम्म कुनै कारबाही भएको छैन।
शिक्षिकाहरूले यो पनि आरोप लगाए, बिहीवार समस्या भन्न जाँदा सम्बन्धित अधिकारीहरूले उनीहरूसित दुर्व्यवहार तथा असम्मानजनक व्यवहार गरे। यसबाट रूष्ट शिक्षिकाहरूले महकुमा परिषद बाहिर लामो समयसम्म प्रदर्शन गरे। प्रदर्शनकारी शिक्षिकाहरूले चाँड़ै बाँकी वेतन भुक्तान गर्ने अनि समस्याहरूको समाधान गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा